Home : : बुद्धिजीवी परिषद्ले गर्यो एमालेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा


नेकपा एमाले निकट बुद्धिजीवी परिषद्ले पार्टीले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा गरेको छ । परिषद्को आयोजनामा काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजन गर्दै अभियानको समीक्षा गरेकोे हो ।

‘मिसन ग्रासरुटः अनुभव र सिकाइ’ शीर्षकमा आयोजना गरिएको कार्यक्रमा परिषद्को तर्फबाट अभियानमा भएका गतिविधिको विषय प्रस्तुती र उक्त प्रस्तुतीमा टिप्पणी गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथिको रूपमा उपस्थित महाचिव शंकर पोखरलले यो अभियान नेपालको इतिहासमै ठुलो र वृहत् भएको बताए । उनले नेपालमा कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सक्दैन भन्ने मानकलाई अन्त्य गर्न एमालेले यो अभियान चलाएको बताए । अबको ४ वर्ष पछिको चुनावमा एमालेले बहुमत ल्याउने गरी अभियान थालिएकाले अहिले नै यसको परिमाण नखोजिएको उनले बताए ।
पार्टी भित्रको समस्यालाई समाधान गर्दै नयाँ र सक्रिय नेता कार्यकर्तालाई पार्टीको नेतृत्वमा ल्याउँदै अगाडि बढ्ने नीति रहेको बताए । २२ गतेसम्म प्रदेश र स्थानीय तहमा समीक्षा गर्ने पोखरेलले बताए । त्यसपछिको निचोडलाई केन्द्रीय समितिले प्रतिवेदनको रूपमा दिने उनले बताए ।

यो अभियान परिषद्का लागि नयाँ र सुरुआति भएको सांसद तथा अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले बताए । उनले परिषद्ले गरेको गतिविधिको विषयमा गहन टिप्पणी गर्ने ४ जनालाई धन्यवाद दिँदै परिषद्को गतिविधिलाई थप सुदृढ गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

देवकोटाले परिषद्लाई प्रदेश र स्थानीय तहसम्म विस्तार गरिरहेको भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताए । उनले नेता कार्यकर्तालाई सक्रिय बनाउन परिषद्ले विभिन्न कार्यक्रम बनाउने तयारी रहेको बताए ।

५ फागुन २०७९ बाट सुरु भएको एमालेको ग्रासरुट अभियान अहिले समीक्षा गर्ने र प्रतिवेदन तयार गर्ने चरणमा छ । गाउँगाउँमा गएर पार्टी निर्माणका लागि संगठन विस्तार, कार्यक्रम, भेटघाट, छलफल गर्न विभिन्न कमिटीहरू बनाएर सबै जनवर्गीय संगठनहरू सहित अभियान सुरु भएको थियो ।

परिषद्ले आयोजना गरेको यो कार्यक्रममा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका प्रस्तोता विधान आचार्यले संगठनको गतिविधि र सिकाइको विषयमा प्रस्तुती दिएका थिए । उनले दिएको प्रस्तुतीमा ४ जनाले टिप्पणी गरे । उक्त टिप्पणीलाई समेत समेटेर परिषद्ले प्रतिवेदन बनाउने तयारी गरेको छ ।

समाचारहरु

कार्यक्रमहरु