Home : : समृद्ध नेपाल निर्माणमा बुद्धिजीवीको भूमिका


बुद्धिजीवी भन्नेबित्तिकै बौद्धिकताको क्षेत्रमा काम गर्ने व्यक्ति भन्ने कुरा झल्कन्छ । नेपालको इतिहास अध्ययन गर्ने हो भने नेपाल राज्य कहिल्यै कसैको उपनिवेश नभई आफ्नो वीरता प्रदर्शन गरी आफ्नो शानका साथ छिमेकीसँग सम्बन्ध राखेर अगाडि बढेको राष्ट्र हो । विभिन्न खालको राजनीतिक व्यवस्था व्यहोर्दै र राजनैतिक परिवर्तन गर्दै आएका नेपाली जनता समृद्ध र आर्थिक रूपले सम्पन्न नेपाल भएको देख्न चाहन्छन् । पटक पटक राजनीतिक परिवर्तन भए पनि आमूल रूपले आर्थिक परिवर्तन हुन नसकेको यथार्थ कसैसामु छिपेको छैन । समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा बोकेको नेपाल अब यस दिशामा अगाडि बढेको छ । तर, भने जति आशातित सफलता नपाएको कुरा पनि छर्लंगै छ । समृद्ध राष्ट्र बनाउने अभियानमा बुद्धिजीवीको भूमिका महत्वपूर्ण रहन्छ ।
विश्वका विकसित राष्ट्रको इतिहास हेर्ने हो भने सबैजसो मुलुक अनुसन्धान र विकास मोडेलमा अगाडि बढेको पाइन्छ । जुन कामको नेतृत्व बुद्धिजीवीले नै गर्ने गरेको पाइन्छ । राजनैतिक नेतृत्वसँग सहकार्यमा बौद्धिक नेतृत्व सँगसँगै रहेमा यो काम सम्भव छ । राष्ट्रको लागि कुनै परियोजना आवश्यक पर्‍यो र सोको अध्ययन अनुसन्धान गर्नुपर्‍यो भने बौद्धिक व्यक्ति नै आवश्यक पर्छ । जसको अध्ययनबाट परियोजना अगाडि बढ्न सक्छ कि सक्दैन, यसका लागि आवश्यक पर्ने आर्थिक व्यावस्थापन, जनशक्ति, भौगोलिक आवश्यकता, देशको लागि हित र अहित, यसले पार्ने दीर्घकालीन असर र प्रभाव, फाइदा र बेफाइदालगायत विभिन्न आयामको विश्लेषण, संश्लेषणबाट निष्कर्षमा पुग्ने गरिन्छ । बौद्धिक व्यक्तिहरूले गर्ने काम कुनै आग्रह वा पूर्वाग्रहविना वास्तविक तथ्य र तथ्याङ्क, भौगोलिक यथार्थ, उपलब्धता, अध्ययन, अनुसन्धानको निचोड र निष्कर्षका आधारमा हुने हुनाले यसको प्रभावकारिता बढी हुने गर्छ । यसरी गरेको कामले समृद्ध राष्ट्र बनाउन सक्छ । त्यसैले बुद्धिजीवीको भूमिका समृद्धिमा अतुलनीय हुने गर्छ । कुनै राजनीतिक व्यक्तित्व वा संस्था वा सदनले दीर्घकालीन नीतिगत निर्णय गर्न पर्‍यो भने त्योभन्दा अगाडि यसका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन के छ, यसका अल्पकालीन र दीर्घकालीन प्रभाव कस्तो हुन्छ, यो निर्णय गर्नुपूर्व र पश्चात गर्नुपर्ने पूर्वतयारीहरु के के छन्, यो देश र जनताप्रति कति उत्तरदायी हुने हो, यसका न्यूनतम र अधिकतम सीमाहरु के के छन्, सबै केस्राकेस्रा केलाएर अध्ययन अनुसन्धान गरेर निर्णय लिने विधि बस्यो भन्ने पक्कै पनि राष्ट्र समृद्ध हुन पुग्छ । यसमा बौद्धिक व्यक्तिको भूमिका छेकेर पनि छेक्न सकिँदैन । नयाँ भूगोल, क्षेत्र, सम्प्रदाय विशेषलाई मध्यनजर गरेर कुनै नयाँ कार्यक्रम तय गर्नुपर्ने भयो भने यसको अन्तरवस्तुभित्र प्रवेश गरेर त्यहाँ भएका हालसम्मको वास्तविक चित्रण, तथ्य, तथ्याङ्क आवश्यकता, उपलब्धता, असर, प्रभाव, लक्ष्यहरू, पछाडिका उपलब्धिहरु, अल्पकालीन र दीर्घकालीन प्रभाव मूल्याङ्कन, परिणामसमेतको गहिरो र मसिनो अध्ययन गरी पूर्ण तयारीका साथ गर्ने गरियो भने उक्त कार्यक्रमको सार्थकता पुष्टि हुन पुग्छ । जसले देश र जनतालाई न्याय गर्छ भने कार्यक्रमको अपनत्व हुने गर्छ र निराशा होइन आशाको पुञ्ज छर्न सफल हुन पुग्छ । यो काम राजनीतिक व्यक्तिको इच्छाशक्तिमा बुद्धिजीवी व्यक्ति वा समुदायबाट सम्भव छ । त्यसैले समृद्धिमा बुद्धिजीवीको भूमिका अपरिहार्य हुने गर्छ । जुन राष्ट्र समृद्ध भएको छ, सो राष्ट्रका राजनैतिक व्यक्तिको उचाइ अन्तर्राष्ट्रिय स्तरमा उच्च भएको पाइन्छ । त्यहाँ बौद्धिक व्यक्तिको उच्च कदर र आवश्यक भएको पाइन्छ । बुद्धिजीवीको विज्ञताको पहिचान निष्कलंकता, प्रभावकारिता, तटस्थता, वास्तकिता, निडरता, स्पष्टता हो । विज्ञताविनाको बुद्धिजीवी नाभीविनाको कस्तुरी जस्तै हुन्छ । बौद्धिक व्यक्तिको सहभागिताविना समृद्ध राष्ट्रको परिकल्पना गर्नु पानीविनाको माछासरह हुनपुग्छ । समृद्धि र बुद्धिजीवी भनेका एकापसका परिपूरक हुन् । राजनीतिक व्यक्तित्व र बौद्धिक व्यक्तित्वको समुच्च द्योतक नै समृद्ध राष्ट्र हो । त्यसैले भन्न सकिन्छ कि समृद्धिमा बुद्धिजीवीको भूमिका अपरिहार्य, अतुलनीय नेतृत्वदायी हुने गर्छ जुनबोधगम्य छ ।
(थपलिया नेपाल बुद्धिजीवी परिषद्का महासचिव हुन् ।)
स्रोत : नेपाल प्रेस

समाचारहरु

कार्यक्रमहरु