Home : : एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउन ‘ग्रासरुट अभियान’ : उपमहासचिव गुरुङ


नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी सञ्चालन गरिरहेको ‘ग्रासरुट अभियान’ एमालेलाई उत्कृष्ट कम्युनिस्ट पार्टी बनाउनका लागि भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित काठमाडौं गोरखा सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

पछिल्लो समय पार्टी सञ्चालन प्रणालीमा सुधार आवश्यक देखिएका कारण अभियान गर्नु परेको उनको भनाइ थियो। पार्टी भित्र बुर्जुवा करण हुँदै गएको र त्यसलाई परास्त गर्दै उत्कृष्ट कम्युनिष्ट पार्टी बनाउन यो अभियान सफल हुने उनको भनाइ छ।

नेपालका पुराना पार्टीहरू पछिल्लो समय बुर्जुवा प्रणालीबाट सञ्चालन हुन थालेको भन्दै उनले एमालेलाई यो प्रणालीबाट मुक्त गर्न आवश्यक रहेको उनले बताए। उनले कांग्रेस, माओवादीहरू समेत बुर्जुवा प्रणालीबाट सञ्चालन भइरहेको बताए। कांग्रेस, माओवादी बुर्जुवासँगै दलाल पुँजीवादको पक्षपोषकसमेत भएको बताए।

कांग्रेस घोषित रूपमै बुर्जुवा भएपनि माओवादी नीतिमा एउटा कुरा गर्ने र व्यवहारमा अर्कै गर्ने पार्टी भएको उनले बताए। माओवादीले भन्दा समाजवादी कम्युनिष्ट भन्ने तर, व्यवहार दलाल पुँजीपतिको पक्षपोषक गर्ने उनको आरोप छ। देशको सार्वभौम सत्ताको रक्षा र विकासको लागि एमालेलाई ५१ प्रतिशत मत चाहिएको उनले बताए।

उनले एमाले भित्रको हरेक सङ्गठनलाई चुस्त र दुरुस्त राखेर पार्टी सञ्चालन गर्न र ५१ प्रतिशत मत ल्याउने लक्ष्यसहित यो अभियान सुरु गरिएको दाबी गरे। हरेक कमिटीलाई माथिल्लो कमिटीसँग प्रतिबद्ध बनाएर पार्टी संगठन सञ्चालन गर्दा पार्टीले राखेको लक्ष्य पुरा हुने उनको दाबी छ।

नेपालमा कम्युनिस्ट पार्टीको सरकार बन्न सक्छ भन्ने कुराको स्थापित एमालेले गरेको भन्दै कम्युनिस्ट पार्टी र सिद्धान्तले जीवनलाई सहज र सरल बनाउन सकिन्छ, भन्ने कुरा एमालेले नै स्थापित गर्ने उनले बताए।

गोरखामा संगठन निर्माण गर्न गम्भीर भएर गोरखाका एमालेहरू लाग्नुपर्ने नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष एवं बाग्मती प्रदेशका सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए। उनले आफूले एमालेमा आवद्ध भएर जनवर्गीय संगठनको नेतृत्व गर्दाको अनुभव पनि गोरखमा अलि बढी मेहनत गर्नुपर्ने देखिएको सुनाए । ‘मिसन ग्रासरुट अभियान’बाट अहिले नेता कार्यकर्ताको ब्लड टेष्ट भइरहेको उनले बताए।

यो अभियानबाट एमाले भित्रका सबै राम्रा र नराम्रा विषयलाई टिपोट गरेर पार्टी सुदृढीकरण गर्नुपर्ने नीति बन्ने उल्लेख गर्दै उनले कसले सही र कसले गलत रिर्पोट ल्याउँछ भन्ने विषयको चिरफार गरेर पार्टी निर्माण गर्न ‘मिसन ग्रासरुट अभियान’ सुरु भएको बताए। गण्डकी प्रदेश सम्पर्क समन्वय कमिटी अध्यक्ष ऋषिराम कँडेलले मिसन ग्रासरुट अभियानले पार्टीलाई नयाँ उर्जा दिइरहेको बताए। उनले यो अवधिमा पार्टी निर्माण र सदस्यहरूको समेत नविकरण भइरहेको बताए । यो अभियानले एमालेलाई एकल बहुमत ल्याएर सरकार सञ्चालन गर्न दह्रो आधार तयार गरेको उनको दाबी छ।

गोरखा जिल्ला उपसचिव सुरेश श्रेष्ठले पार्टी निर्माण गर्न सबै नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने बताए । गोरखाका स्थापित नेता कार्यकर्ता काठमाडौंमा व्यापार व्यवसाय गरेर बसेको उल्लेख गर्दै उनले पार्टीले उनीहरूलाई उचित सम्मान दिएर परिचालन गर्नुपर्ने आवश्यकता भएको बताए । गोरखका जिल्ला कमिटी सदस्य मिनबहादुर अधिकारीले यो अभियानले गोरखालाई नयाँ ढंगले पार्टी निर्माणका लागि तयार गरेको बताए ।

उनले गोरखाका विषयमा पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने समेत बताए । गोरखामा नेकपा एमालेले उच्चशीर बनाएर हिड्न सक्ने बनाउन समीक्षा जरुरी रहेको उनले बताए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै गोरखा जिल्ला इन्चार्ज चन्द्र पन्तले पार्टीको नीति र उद्देश्यलाई प्रष्ट रूपमा राख्न सक्यौं की सकेनौं भन्ने विषयलाई ध्यान दिनुपर्ने बताए । देशमा अस्थिरता बढी रहेको भन्दै उनले अब एमालेलाई यस्तो परिस्थितिमा लोकप्रिय र सशक्त बनाउन लाग्नुपर्ने बताए।

काठमाडौं गोरखाका अध्यक्ष भीमप्रसाद कार्कीले कार्यक्रमको अध्यक्षता गरेका थिए। उनले गोरखका सम्पर्क मञ्चलाई सशक्त रूपमा आगडि बढाउन लागेको बताए। उनले गत निर्वाचनमा समेत आफूले मुख्य भूमिका निर्वाह गरेको तथा विभिन्न जनवर्गीय संगठनहरूको सम्मेलनमा समेत महत्वपूर्ण सहयोग गरेको बताए ।

समाचारहरु

कार्यक्रमहरु